नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन-२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनुभएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ ।’