लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।
नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ ।
जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँदयामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानीको मात्रा (जलजवाष्प)को कमीले वर्षा हुन नसकेको हो ।
हिउँदे वर्षाको महत्व
नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गई जम्मा हुन्छ । यो नै पछि गएर मूलको रुपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।
अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढ्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।