सुनसरी ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि विभिन्न जिल्ला पुर्याइरहेको छ।
सभापति लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। शुक्रबार लामिछानेमाथि सरकारी वकिल कार्यालय काठमाडौंले बयान लिइरहेको छ।
कास्कीमा सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी गरेको पनि आरोपमा अनुसन्धान गरिएको हो।रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेको मुद्दाको प्रक्रिया के हुन्छ र उनीमाथि कहिलेसम्म अनुसन्धान हुन्छ भन्नेमा धेरैको चासो छ।
सभापति लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंको च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो।
प्रहरीले रबि माथि अब १६ दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालतमा लगिसक्नुपर्छ।सभापति लामिछाने कात्तिक २ गते पक्राउ परे पनि सहकारी ठगीकै आरोपमा गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक छविलाल जोशी बञ्जाडे असोज ६ गते पक्राउ परेका थिए।
उनीमाथि पनि प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ। दुवै जना एउटै घटनामा जोडिएकोले अनुसन्धानको समयवधिको गणना जोशी पक्राउ परेको दिनबाट गरिन्छ।