सुनसरी नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्यो ।
नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन् । तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन् ।
नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।
यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।