सुनसरी।के पी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू सडक संघर्षमा ओर्लिएका छन् । गत असार १७ गते दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा ओली नेतृत्वको सरकार बनेको हो ।प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले नै सरकारमा सामेल भएको अवस्थामा विपक्षी दलहरूको आकार तुलनात्मकम रूपमा निकै सानो छ । यद्यपि, विपक्षी दलहरूले सरकारलाई विभिन्न मुद्दामा निसाना बनाउँदै आएका छन् ।विपक्षीहरूले सरकारको कडा आलोचना गरिरहेको समयमा सत्ता पक्ष, त्यसमा पनि सरकारकै नेतृत्व गरिरहेको दल नेकपा एमाले स्वयं शक्ति प्रदर्शन गर्ने अवस्थामा पुगेको छ । एमालेले ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको हो । सरकारविरूद्ध फैलाएको अफवाह तथा अराजकतालाई चिर्न जागरण सभा गर्न लागिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन ।