सुनसरी। ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान मोरङ प्रहरीले १२ दिनमै सकेको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको छ ।
सामान्य मुद्दामा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले पोखरेलविरुद्धको आरोपमा भने १२ दिनमै अनुसन्धान सकेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले ठगी मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए । ‘दुवै पक्षसँग बुझियो, अनुसन्धान पछि मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं,’ उनले भने ।